गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

admin

काठमाडौं, १६ जेठ : गण्डकी प्रदेशको बजेट अधिवेशन (आज) आइतबारदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबार १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेकी छिन् । बजेट अधिवेशनको पहिलो दिन आइतबार दलका नेताहरूले सम्बोधन गर्ने र सोमबार प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।

बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ । प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ । जेठ २५ देखि २७ गतेभित्र विश्वासको मत लिने प्रदेश सरकारले तयारी गरिरहेको छ ।

गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न उनीहरूले पार्टी निर्णयसहित बैशाख २९ गते प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । तर प्रदेश प्रमुख पौडेलले विपक्षी गठबन्धनको पक्षमा बहुमत नपुगेको निष्कर्षसहित मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया