अनलाइन कक्षाले तनावमा बालबालिका

admin

काठमाडौं, असार ३० : नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भन्नुभयो, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”

अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताउनुभयो ।

उहाँका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हँुदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ । उहाँले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिनुभयो ।

“बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,” उहाँले भन्नुभयो, “यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया