बालुवाटार जग्गाः किर्ते मुद्दामा छानबिन पूरा, सरकारले दर्ता गरेन मुद्दा

admin

काठमाडौं, २९ भदाै : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि किर्ते कसुरमा मुद्दा चलाउन सरकार नै बाधक बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डेढ वर्षदेखि गरेको अनुसन्धान टुंगोमा पुगे पनि सरकारकै अनिच्छाका कारण आरोपितलाई पक्राउ गरेर मुद्दा दर्ता प्रक्रियामा जान नसकेको हो ।

सरकारी कागजात किर्ते जालसाजी गरी ललिता निवासको जग्गा हडपेको प्रकरण अनुसन्धान थालेयता नेपाल प्रहरीमा आईजीपी तीन जना र सीआइबीमा प्रमुख पनि तीनैजना बदलिएका छन् । मुद्दा दर्ताका लागि निर्णायक मानिने महान्यायाधिवक्ता पनि तीन जना फेरिएका छन् ।

अनुसन्धान अघि बढाउन निर्देशन दिएका तत्कालीन गृहसचिव प्रेमकुमार राई अवकाशपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छन् । गृहमा अरु दुई सचिव फेएिका छन् । प्रधानमन्त्री पनि यो अवधिमा दुई जना भइसके ।

तर, मुद्दाको अनुसन्धान अघि बढाउन न राजनीयितक तहबाट तदारुकता देखाइयो न गृह प्रशासन र सीआईबीबाटै । अब अनुसन्धानको म्याद गुज्रिने समय चार महिना छ । हालसम्म आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढेको छैन ।

महान्यायाधिवक्ता खम्बबहादुर खातीले यसबारे सीआईबीसँग औपचारिक कुराकानी भएको र विस्तृत रुपमा प्रतिवेदन हेर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले प्रतिवेदन हेरेपछि मुद्दा चल्ने नचल्नेलगायतका विषयवस्तुबारे बोल्ने बताए ।

‘एक महिनाअघि यस विषयमा सीआईबीका अधिकारीसँग अनौपचारिक कुराकानी भएको हो तर अनुसन्धान के कसरी भएको छ भन्ने हेर्न बाँकी छ’, उनले भने, ‘अनुसन्धानको म्यादबारे सीआईबी पनि जानकार नै होला, त्यसअघि नै हामीलाई बुझाउनुहोला नि अनुसन्धान प्रतिवेदन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया