माधवनारायण व्रतका व्रतालुले गरे पशुपतिनाथमा पूजा-आराधना

admin

काठमाडौं, १९ माघ : साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । व्रतका बर्तालुले मंगलबार बिहान स्नान गरी पशुपतिनाथको दर्शन गरेका छन् ।

पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा आएर भोजन गर्ने परम्परा छ ।

भोजनपछि बर्तालु सिंहदरबार हुँदै दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् । माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा गर्छन् ।

कोरोनाको तेस्रो लहर फैलिरहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको बर्तविधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । व्रतमा यसवर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया