मूर्ति बनाउन भ्याइनभ्याइ

admin

टङ्कीसिनवारी, ११ असोज : कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि ठप्प रहेको मूर्ति निर्माणले हाल गति लिएको छ ।

दसँैं मुखैमा आइसकेकाले मागअनुसारको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याइ छ । विराटनगरका एक मूर्तिकार सुकमल दासदेवी देवताको मूर्ति बनाउन यति व्यस्त हुनुहुन्छ कि उहाँलाई बोल्नसमेत फुर्सद छैन ।

यो दसैँमा मूर्तिबाट राम्रै आम्दानी हुने मूर्तिकार सुकमल दासको भनाइ छ । मूर्तिकार दासले विराटनगर–३ को बरगाछीमा माँ मन्सा मूर्तिकला केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उहाँका बुबा जगन्नाथले ५० वर्षअघि भारतको पश्चिम बङ्गालको बालुघाटबाट विराटनगर आएर मूर्ति निर्माण थाल्नुभएको थियो ।

विराटनगरमा नै जन्मिएका मूर्तिकार दासले पनि बुबा जगन्नाथकै पेसालाई पछ्याउनु भयो । आएको अर्डरलाई हातबाट जान नदिने गरी भदौको पहिलो हप्तादेखि दासले देवीदेवताका मूर्ति निर्माण सुरू गर्नुभएको थियो । विराटनगर र मोफसलका चोक–चोकमा नौरथा सुरू भएदेखि पण्डाल टाँगेर माता दुर्गा, कुमार, गणेश, लक्ष्मी, सरस्वतीलगायतका देवीदेवताको मूर्ति राख्ने चलन छ ।

बाक्लै सङ्ख्यामा अर्डर आएको हुनाले मूर्तिकार दासलाई मूर्ति बनाउन भ्याइनभ्याइ छ । उहाँलाई फूलपातीसम्ममा माग गरिएका सबै मूर्ति आपूर्ति गरिसक्नुपर्ने समयसीमा छ । मूर्ति बनाउन दासलाई उहाँकी श्रीमती टुलीदेवी, दुई छोरा विश्वजीत र समीरले अहोरात्र सघाउनुभएको छ । विश्वकर्मा पूजा, सरस्वती पूजा र दसँैमा मूर्तिको बढी खपत हुने गरेको छ ।

नेपाली मूर्तिकारले मात्र मूर्तिको माग धान्न नसक्ने हुँदा भारतबाट समेत मूर्तिकार विराटनगर आएर डेरा जमाउने गर्छन् । भारतीय मूर्तिकारले पनि राम्रै आय लिएर जाने गर्छन् । मूर्ति बनाएरै आफ्नो र परिवारको पेट पालेको मूर्तिकार दास बताउनुहुन्छ । कोरोनाका कारण दुई वर्ष पेसामाथि सङ्कट आइपरे पनि अहिले फेरि दसैँको मुखमा मूर्तिको माग व्यापक बढेको दासले भन्नुभयो ।

मूर्तिलाई सा¥हो माटो चाहिने हुनाले परबाट माटो ल्याउनुपर्ने र महँगोमा माटो किन्दा मूर्तिको मूल्य बढ्न गएको मूर्तिकार दासले थप्नुभयो । उहाँले भन्नुभयो, “विराटनगरको माटो फुस्रो छ । यहाँको माटोले बनाएको मूर्ति चर्कने जोखिम हुन्छ । त्यसैले आकाशिएको ट्र्याक्टर भाडा तिरेर आठदेखि १० किलोमिटर पर चिमडी, देवानगञ्जबाट माटो ल्याएर मूर्ति बनाउँदा महँगो पर्ने गरेको छ ।”

मूर्तिमा लगाइने रङ पनि भारतबाट ल्याउनुपर्ने चटारोका कारण बेलाबेलामा मूर्तिकार दासलाई तनाव हुने गरेको छ । भनेको समयमा भारतबाट रङ मूर्ति निर्माणस्थलसम्म नआइपुग्दा मूर्ति आपूर्ति गर्न सकिँदैन कि भन्ने चिन्ता दासलाई हुने गरेको छ । दासले रङ पश्चिम बङ्गालबाट मगाउने गर्नुभएको छ । मूर्तिका लागि विशेष पक्का रङ चाहिने भएकाले भारतबाट मगाउने गरेको मूर्तिकार दासले बताउनुभयो । विराटनगरमा मूर्ति निर्माण गर्ने आधा दर्जन केन्द्र सक्रिय छन् ।

आकार प्रकार हेरेर रु १० हजारदेखि ५० हजारसम्ममा एउटा मूर्ति बिक्री गर्ने गरिन्छ । मूर्तिकार दासले भविष्यमा जस्तोसुकै विकट परिस्थिति आए पनि मूर्ति बनाउने पेसाबाट कहिले पलायन नहुने प्रण गर्दै पेसाप्रति सम्मान दर्शाउनुभएको छ ।

प्रतिक्रिया