आज हरिबोधिनी एकादशी

admin

काठमाडौँ, १८ कात्तिक : आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइन्छ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

आजका दिन काठमाण्डाै उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डाैका शेषनारायण र इचङ्गुनारायण ठाउँमा विशेष मेला लाग्दछ । त्यहाँ जान नसक्नेले काठमाण्डाैको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया