साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ

admin

काठमाडौं, बैशाख २० : कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ ।

अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

‘सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढार्इंले भने, ‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं ।’

अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।

खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपारदर्शिता हो ।

यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने । ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया