म्याग्दी, माघ ७ : पशु बाँध्ने गोठको बाहिर पट्टी परालको गुन्द्रीमा हलचल नगरीकन सुतिरहेकी छन् प्यारालाइसेसले थलिएकी पतिराम सार्कीकी श्रीमती पुतली सार्की। गोठभित्र पट्टी आगो निभेको अगेनो छ। अगेनोमा रहेको ओदानमाथि एउटा रित्तो भाँडो राखिएको छ।
गोठमा खाने अन्न केही छैन। बाहिर श्रीमतीको छेउमा बिरामी श्रीमतीलाई कुरेर बसिरहेका छन् ६५ वर्षीय पतिराम। देख्दै आँखा रसाउने यो दृश्य म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको फापरखेत गाउँको हो। सार्की दम्पति १ महिनादेखि यस्तै अवस्थामा रहेका छन्। श्रीमती पुतली सार्की थलिएपछि पतिरामले ऋण खोजेर पोखराको मणिपाल अस्पतालमा लगे। त्यहाँ ४५ हजार खर्च भयो तर श्रीमतीको स्वास्थ्यमा केही सुधार नभएपछि गाउँ फर्किए।
‘डाक्टरले उपचार गर्न २ लाख रुपैयाँ लाग्ने बताएपछि पैसाको अभावमा नै श्रीमतीको उपचार गर्न सकेको छैन’ पतिराम सार्कीले भने ‘बिरामीलाई खुवाउने अन्नसमेत छैन, मागेर ल्याएको अन्नले दुई दिन पनि पुग्दैन।’ सुकम्बासी सार्कीले रात कटाउनका लागि अर्कैको गोठ पाए पनि श्रीमतीको उपचारका लाग्ने रकम नपाउँदा मृत्यु कुरेर बस्नु परेको बाध्य भएको सुनाए।
भएको एउटा छोराको पनि मृत्यु भएपछि ज्याला मजदुरी गरेर खर्च चलाइरहेको अवस्थामा अचानक श्रीमति बिरामी भएपछि दिनभरी कुरेर बस्नु पर्दा ज्याला मजदुरी गर्न पनि नसकेको उनले बताए। सार्कीको उपचारका लागि आर्थिक सहयोगको अभियान संचालनसँगै आवश्यक लत्ता कपडाको लागि पहल भइरहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए। उपचार र खानपानका लागि सहयोग जुटाउने अभियानमा छौँ’ पौडेलले भने।
यसैबीच सार्कीको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गर्ने जनाएको छ। बेदना र पीडामा छन पतिराम सार्कीका दम्पति। पतिराम भन्छन् ‘प्यारालाइसेसले थलिएकी पत्नीलाई पशु चौपायाँ बाँध्ने गोठमा भोकै सुताएर मृत्यु कुर्नु पर्दा मेरो मन बेस्सरी रोएको छ। आफ्नो गरिबीलाई धिक्कार्दै, देउता पुकार्नुबाहेक मसँग अर्को कुनै उपाय छैन। मनकारी व्यक्तिहरूको सहयोगको पर्खाइमा छु।’