किन बाटैबाट फर्किए बालुवाटार हिँडेका माधव-झलनाथ समूहका सांसद ?

admin

काठमाडौं, ५ चैत : नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरुले बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । उक्त बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु बाटैबाट फर्किएका छन् ।

माधव-झलनाथ समूहका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् । ‘हामी बालुवाटार जान हिडेँका थियौं, बाटोमै यताबाट फोन आयो अनि सिंहदरबारबाटै फर्कियौँ’, सांसद लक्ष्मी चौधरीले भनिन्, ‘कमरेडहरुले आउनु भनेपछि फर्केका हौँ।’

यसअघि माधव-झलनाथ समूहका सांसदहरुको बैठकले बालुवाटार बैठकमा हाजिर गरेर फर्कने निर्णय गरेको थियो । सांसद कृष्णभक्त पोखरेलले उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने जानकारी दिएका थिए । हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् । उता बालुवाटारमा बोलाएको दलको बैठक अझै सुरु हुन सकेको छैन ।

सांसदहरु बालुवाटार प्रवेश गर्ने क्रम जारी रहेका छ । बिहीबारको संसदीय दलको बैठकमा सहभागी हुने या नहुने भन्नेबारे केहीबेरअघि बसेको बैठकले सहभागी नहुने निर्णय गरेको माधव-झलनाथ समूहका सांसद दिपक भट्टले जानकारी दिएका थिए । छलफलका क्रममा केही सांसदहरुले जानुपर्ने र केही सांसदहरुले नजाने राय प्रस्तुत गरेको तर निर्णय भने नजाने भएको उनले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको छ ।  माधव-झलनाथ समूहले बुधबारदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । बुधबारको भेलाको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

बिहीबारका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमासमेत आफूहरु सहभागी नहुने नेता योगेश भट्टराईको पनि भनाइ रहेको छ ।  सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २०७५ सालको जेठ २ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने माधव-झलनाथ समूहको अडान छ ।

गएको फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्त्वपूर्ण निर्णय गरेलगत्तै माधव-झलनाथ समूह थप असन्तुष्ट छ । निर्णय फिर्ता नलिएसम्म आफूहरुको सङ्घर्ष जारी रहने माधव-झलनाथ समूहका नेताहरुले बताएका छन् । यो समूहले बालुवाटारमा आयोजना भएको चियापान कार्यक्रमसमेत बहिस्कार गरेको थियो ।

प्रतिक्रिया