औषधी बिक्रिबितरणको बेथिति नियन्त्रणका लागि हदैसम्मको कठोर निर्णय लिनेछु : स्वास्थ्यमन्त्री

admin

काठमाडौं, ५ भदौ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधी बिक्रिबितरणमा भएको बेथिति नियन्त्रणका लागि हदैसम्मको कठोर निर्णय लिने बताउनुभएको छ ।


औषधि व्यवस्था विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको फर्मासिष्ट व्यवसायी तालिम कार्यक्रममा मन्त्री बस्नेतले औषधिजस्तो संवेदनशील विषयमा लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि हदैसम्मको निर्णय लिने बताउनुभएको हो ।

उहाँले फार्मेसी सञ्चालन र भण्डारण पारदर्शी नभएको कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरुप बिक्री वितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । त्यस्तै उहाले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको धारणा राख्नुभयो ।

मन्त्री बस्नेतले अहिले पनि देशभर गरिब, निमुखा र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आफू लागिपरेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया